मुख्य समाचार

रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी जोशी थप ७ दिन हिरासतमा रहने

- केएफएम डेस्ककाठमाडौं

कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी लगायतलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागू हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरुलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।

उनीहरुले अनुसन्धानको क्रममा विभिन्न सरकारी कार्यालयहरू, संघसंस्था र बैंकहरूबाट कागजात माग गरिएपनि प्राप्त भइनसकेको तथा बयानको काम समेत बाँकी रहेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

यसैबीच,कास्की जिल्ला अदालतबाट म्याद थप भएपछि रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनमा रास्वपाका उपसभापति एवं सांसद डिपी अर्याल, सांसदहरू तोसिमा कार्की, सोविता गौतमलगायत नेताहरुसमेत सहभागी थिए ।