प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण चीनबाट सुरु हुने
- काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीको चौथो कार्यकालको पहिलो औपचारिक भ्रमण चीनबाट हुने भएको छ ।
नेपालमा प्रधानमन्त्री हुनेबित्तीकै छिमेकी भारत जाने परम्परागत मान्यता विपरित प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्न लाग्नुभएको हो । उहाँले मंसिरको १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने गरी आन्तरिक तयारी भईरहेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो आएको श्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारतमै गर्न चाहेपनि दिल्लीले संकेत नदिएपछि चीन जान लाग्नुभएको हो । यद्यपी एमालेका एक नेताका अनुसार भारत भ्रमणका लागि पनि कुटनीतिक प्रयास भईरहेको छ ।
ती नेताले भने, राष्ट्रसंघीय महासभा बैठकका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसंग प्रधानमन्त्री ओलीको भेटवार्ता भईसकेको छ । दुई पक्षीय मुद्धाबारे कुराकानी भईसकेको छ । आगामी भ्रमणबारे पनि गृहकार्य भईरहेको छ । तिहार लगत्तै मन्त्रीपरिषद बैठक बसेर प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका अनुमोदन हुने बताईएको छ ।