मुख्य समाचार

छठको दोस्रो दिन आज व्रतालुले खरना मनाइँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन आज व्रतालुले खरना मनाउँदै छन् । पहिलो दिन कात्तिक शुक्ल चौथीमा हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुले आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउँछन् । 

बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर ग्रहण गर्छन् । साथै घरपरिवारका सदस्यलाई बाँडछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गरिन्छ । त्यसको भोलिपल्ट सप्तमीका दिन पर्सि शुक्रबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । 

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवा सहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने परम्परा छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।