मुख्य समाचार

संरक्षण अभावमा जीर्ण बन्दै सेनवंशीय रुद्रपुरगढी

- नवीन पौडेलनवलपरासी पूर्व

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादीस्थित ऐतिहासिक रुद्रपुरगढी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रुद्रपुरगढीमा रहेका पुरातात्विक वस्तु पनि नष्ट हुँदै गएका छन् । 

तत्कालीन समयमा रिव्दीकोटका सेन वंशीय राजा रुद्रसेनले विसं १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । तर, अहिले गढी भएको स्थान झारपातले भरिएको भने संरक्षण अभावमा भएका शिला तथा संरचना नष्ट हुँदै गएका छन् । 

महाभारत पर्वत शृङ्खलामा पर्ने गढी वरपर दरबारको भग्नावशेष, गोलाकार ट्रेन्च, पोखरी संरक्षणहीन अवस्थामा छन् । ऐतिहासिक स्थल भएकाले आन्तरिक पर्यटकहरु पदयात्रा गर्दै गढीसम्म पुगेपनि संरक्षण अभावमा गढीको अस्तित्व मेटिन लागेको भन्दै निराश बन्ने गरेका छन् । 

जिल्लाको प्रसिद्ध मौलाकालिका स्थान, मुकुन्दपुर वरपर कोत तथा मन्दिरका भग्नावशेष आदि हुनुले गढी लगायत यो ठाउँ शक्तिशाली पाल्पा राज्यको महत्वपूर्ण भूभाग रहेको स्थानीयको दाबी छ । 

गढीसम्म पुग्न केही वर्ष अगाडि निर्माण गरिएको पदमार्गको सिढी पनि सरसफाई नहुँदा झाडीमा परिणत भएको छ । हिमाल,पहाडका दृश्य नियाल्न र छिमेकी देश भारतको बिहार सम्मका भू–भाग देख्न सकिन्छ । 

हुप्सेकोट गाउँपालिका–५ का वडा अध्यक्ष पदम बहादुर रानाले गढीको संरक्षण र उत्खनन्का लागि स्थानीय सरकारले मात्र नसक्ने हुँदा केन्द्र सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।