लुम्बिनीका मुख्यमन्त्री आचार्य आज चीन जाँदै
- बुटवललुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन जाँदै हुनुहुन्छ ।
सिचुआन प्रान्तमा कात्तिक २६ देखि २८ गतेसम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
सो सम्मेलनमा समन्वय र विकासको विषयमा अन्तर्राष्ट्रिय स्तरको छलफल हुनेछ । त्यसमा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन एवं दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने भ्रमण दलका सदस्य एवं मुख्यमन्त्रीका स्वकीय सचिव कुलश भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने गरी भ्रमणका कार्यक्रम तय भएका छन् । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रदेश प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, मुख्यमन्त्रीका दोभाषे डा. सागर न्यौपाने र मुख्यमन्त्री पत्नी दीपा आचार्य आइतबार बेलुका चीन जान लाग्नु भएको हो ।
२०७६ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरेको थियो । भगिनी सम्बन्धमा लुम्बिनी प्रदेशको कृषि, उद्योग, पर्यटन लगायत क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
यसैबीच, मुख्यमन्त्री आचार्यले भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको छ ।