रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
- काठमाडौंसहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।
जिल्ला अदालतले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि आज थप १३ दिनको अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले लामिछाने सहितका ४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
लामिछानेलाई कार्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।