मुख्य समाचार

बयानका लागि रवि लामिछानेलाई भैरहवा ल्याईदै

- घनश्याम गौतमबुटवल

सहकारी ठगी, संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा ल्याईदै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भैरहवा ल्याउनका लागि कास्की प्रहरीले पोखरा विमानस्थलमा पुर्‍याएको छ । 

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भईरहे पनि पोखराको प्रतिकूल मौसमका कारण उडानमा ढिलाई भईरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई ल्याउने भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । लामिछानेलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । त्यस्तै सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । ‘सकेसम्म छिटो यहाँको बयान सकेर कास्की नै फिर्ता पठाउनु पर्नेछ,’ राठौरले भन्नुभयो, ‘त्यही अनुसार बयानको तयारी भईरहेको छ ।’ 

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक जीबी राईसहित झण्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसूरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ । त्यो मध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।

त्यही अनुसार कात्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि भैरहवा ल्याउन लागिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैंयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा लुम्बिनी प्रदेश र सुप्रिम पीडितहरुले छुट्टाछुट्टै तयारी गरिरहेका छन् । दुवैले भैरहवा केन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ । 

सोमबार दिनभर सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आंकलन र विश्लेषण गरिरहेको र आवश्यकता अनुसार मंगलबार नै निषेधित क्षेत्र घोषणा गर्नेगरी निर्णय भएको छ । ‘निषेधित क्षेत्रको चौकिल्लाको विषयमा निर्णय भईसकेको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘आवश्यकता अनुसार खुकुलो वा कडाई गर्ने भन्ने निर्णय तत्काल लिईने गरी सहमति भएको छ ।’

लामिछानेसँगै रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान लिएर कास्कीमै लगिएको थियो । 

स्रोतका अनुसार रविलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न तयार गरिसकेको छ । थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो । रविलाई बयानका लागि बढीमा ३ दिन मात्र भैरहवामा राख्ने प्रहरीको तयारी छ । बयान सकिएपछि पुनः कास्की नै पठाउने गरी कास्की र रुपन्देही प्रहरीबीच समन्वय भईरहेको प्रहरीले जनाएको छ ।