मुख्य समाचार

रवि लामिछानेसित दोस्रो दिनको बयान सुरु

- दीपेन्द्र बडुवालभैरहवा

सहकारीको रकम ठगी र संगठित अपराधको कसूरमा अनुसन्धानका कास्कीबाट रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसित बयान लिन सुरु भएको छ । 

पूर्व गृहमन्त्री तथा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेसाग बुधबार बिहान १० बजेबाट बयान लिन थालिएको हो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना लगायत आरोपमा अनुसन्धानका लागि उनलाई मंगलबार मध्याहृन बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो । 

भैरहवा ल्याउने बित्तिकै बयानका लागि लामिछानेलाई सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतले लामिछानेको बयान लिइरहेका छन् । 

मंगलबार बयान नसकिएपछि बुधबार बिहान लामिछानेलाई १० बजेर १० मिनेटमा सरकारी वकिलकको कार्यालय पुर्‍याइएको थियो । लामिछानेलाई प्रहरीले सुरक्षा घेरा बनाएर सरकारी वकिल कार्यालय प्रवेश गराएको थियो ।