लोकरिझ्याइँबाट राजनीतिमा आएकाहरू क्षणिक हुने नेताहरुको टिप्पणी
-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकरिझ्याइँबाट राजनीतिमा आएकाहरू क्षणिक हुने टिप्पणी गर्नुभएको छ । कान्तिपुर मिडिया गु्रपले आयोजना गरेको ’कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गत ’दोबाटोमा लोकतन्त्र’ विषयक सत्रमा बोल्दै भट्टराईले नेपालमा प्रतिस्पर्धा र सहकार्य गरेर अघि बढ्ने लोकतन्त्र आवश्यक रहेको बताउनुभयो ।
माओवादी त्यागेर वैकल्पिक राजनीतिमा आफू लाग्नुको आधार पपुलिजम नरहेको पनि भट्टराईको दाबी थियो । भट्टराईले नेपालमा लोकतान्त्रिक संस्था बलियो नबनेकाले भ्रष्टाचार मौलाएको र राजनीतिक अस्थिरताका कुरा बुझेर सुधारमा जानुपर्ने वैकल्पिक राजनीति हुनुपर्ने जिकिर गर्नुभयो ।
यसैबीच, सोही सत्रमा बोल्दै सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रलाई दोबाटोमा पु¥याउन राजनीतिक दलहरूले भूमिका खेलेको आरोप लगाउनुभयो । उहाँले समस्या भएको विषय स्वीकार गरेमात्र व्यवस्था र शासन प्रणाली सुधार गर्न सकिने दाबी गर्नुभयो । देश संचालन गर्ने प्रमुख नेताहरूले लोकतन्त्रलाई कमजोर पार्न भूमिका खेलेको स्वीकार नगरी सुधारको पहल नलिए आफूले लिने थापाको भनाई थियो । महामन्त्री थापाले समस्या राजनीतिक दलहरूले सिर्जना गरेको र सुधार पनि राजनीतिक दल र नेतृत्वहरूले नै गर्नुपर्ने बताउनुभयो ।
यस्तै सो सत्रमा बोल्दै नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिले सामाजिक न्यायमा आधारित लोकतन्त्रको खोजी भइरहेको बताउनुभएको छ । लोकतन्त्रलाई फरक–फरक दृष्टिकोणले हेरिए पनि आफूहरू सामाजिक न्यायमा आधारित लोकतन्त्रको पक्षमा रहेको उहाँको भनाइ छ । नेता झाँक्रीले सामाजिक न्यायमा आधारित समृद्ध लोकतन्त्र विकासका लागि नेपाल चुकेको बताउनुभयो ।