सहकारी ठगी प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको दाबी
-प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने दाबी गर्नुभएको छ । कान्तिपुर कन्क्लेभको अन्तिम सत्र परिसंवादमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा पक्राउ परेको प्रस्ट पार्नु भयो । अदालतको अनुमतिमा पक्राउ परेकाले निर्दोष अथवा दोषी ठहर हुँदा आफ्नो भूमिका नहुने उहाँको भनाई थियो ।
कांग्रेसका उपसभापति धनराज गुरुङ माथि बयान लिने र अनुसन्धान भइरहेको भन्दै प्रधानमन्त्री ओलीले लेखा समिति सभापति ऋषिकेश पोखेरल पनि दोषी देखिए पार्टीले नजोगाउने दाबी गर्नुभयो । यस्तै, उहाँले जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र गणतान्त्रिक संविधानप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
जनता लडेर ल्याएको व्यवस्था भएकाले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ रूपमा अगाडि बढाउन लाग्ने उहाँको भनाई थियो । यस्तै, प्रधानमन्त्री ओलीले सत्तारुढ कांगेससँगको सहमतिअनुसार आफनो प्रधानमन्त्रीको कार्यकाल १८ महिना बाँकी रहेको बताउनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालका प्रधानमन्त्री पहिले चीन जाँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने समेत जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले सार्वभौम मुलुकले अनुकूल भएका देशमा भ्रमणमा जाने स्वतन्त्रता भएको जिकिर गर्नुभयो ।