मुख्य समाचार

रास्वपा सभापति लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी र संगठित अपराधको कसुरमा मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट आज पोखरा लगिएको छ ।

रुपन्देहीस्थित जिल्ला सरकारी कार्यालयमा बयान सकिएसंगै लामिछानेलाई आज भैरहवा विमानस्थलबाट पोखरा लागिएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गर्न गत मंगलबार रुपन्देही लगिएको थियो ।

अनुसन्धान अधिकारीहरूले तीन दिनमा सोधिएका ७४ प्रश्नमा लामिछानेले सुप्रिम सहकारीमा आफू सदस्य नभएको र सहकारीसँग कुनै आर्थिक कारोबार नरहेको दाबी गरेको स्रोतको भनाइ छ । लामिछानेसंगको प्रारम्भिक बयान सकिएसंगै अदालतमा मुद्धा पेश गर्ने तयारी भएको बुझिएको छ ।

रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले रविसंगै अन्य आरोपितको बयान र तथ्य प्रमाण फेला परेको अवस्थामा पुनः बयान हुन सक्ने जानकारी दिनुभयो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्की प्रहरी हिरासत रहेका लामिछानेलाई पुनः पोखरा लागिएको हो ।