झण्डै ६३ लाख पुग्यो नेपालमा करदाताको संख्या
- काठमाडौंकरको दायरा विस्तार भएसँगै नेपालमा करदाताको संख्या करीब ६३ लाख पुगेको छ । आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका गरी कुल करदाताको संख्या ६२ लाख ९४ हजार ८ सय २८ पुगेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा व्यावसायिक स्थायी लेखा नम्बरतर्फ एक लाख ५१ हजार ४३ सय ३७ करदाता थिए । सो संख्या बढेर २०८१ असार मसान्तसम्ममा २० लाख २७ हजार ६ सय ६८ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ६ लाख १७ हजार ५ सय ३२ करदाता रहेकोमा सो संख्या बढेर ४२ लाख ६७ हजार १ सय ४६ पुगेको विभागको तथ्यांक छ ।
एकै वर्षमा कर दाताको संख्या उल्लेख्य बढेको हो । आर्थिक वर्ष २०८०÷८१ मा कुल १० खर्ब ५८ अर्ब रुपैयाँ राजश्व असुली भएकोमा आन्तरिक राजश्व विभागको योगदान ५ खर्ब ३३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
यो कुल राजश्व असुलीको ५० दशमलव ३३ प्रतिशतहो । गत वर्ष विभागले राजश्व असुलीको ७८ दशमलव ६५ प्रतिशत लक्ष्य पाएको थियो । विभागका अनुसार गत आर्थिक वर्ष सबै भन्दा बढी आयकरतर्फ ४५ दशमलव ४० प्रतिशत र मूल्य अभिवृद्धि तर्फ २४ दशमलव ४० प्रतिशत राजश्व असुली भएको थियो । यसैबीच, आज विभिन्न कार्यक्रम गरी कर दिवस मनाईदै छ ।