मुख्य समाचार

स्थानीय तह उपनिर्वाचनः ४ सय ७ जनाको मनोनयनपत्र दर्ता

- केएफएम डेस्ककाठमाडौं

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४ सय ७ जनाको मनोनयनपत्र दर्ता भएको छ ।

अपरान्ह ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा ६४ जना महिला, ३ सय ४१ जना पुरुष र अन्य २ जना गरी ४ सय ७ जनाको उम्मेदवारको मनोयन दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

जस अन्तर्गत राजनीतक दलका २ सय ८६ जना र स्वतन्त्रबाट १ सय २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । भोली बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र अपरान्ह ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

यसैबीच, स्थानीयतहको उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । उपनिर्वाचन हुने जिल्ला तथा स्थानमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिता लागू गर्न गरिएको आयोगको भनाइ छ ।