मुख्य समाचार

पूर्वसभामुख ढुङ्गानाको आज अन्तिम संस्कार गरिने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिने भएको छ । कलेजो सम्बन्धी समस्याबाट पीडित ८३ वर्षीय ढुंगानाको उपचारकै क्रममा हिजो काठमाडौंको एक अस्पतालमा निधन भएको थियो । 

अन्तिम संस्कारअघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिने भएको छ । बेलायतमा रहेका छोरा फर्केपछि ढुंगानाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ । 

ढुंगानाको पार्थिव शरिर अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । ढुंगानाको शव बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालबाट निकालेर श्रद्धान्जलीका लागि सानो गौचरणमा लगिने उहाँका भाई राजन ढुंगानाले जानकारी दिनुभयो ।

उहाँको केही महिनाअघि भारतको नयाँ दिल्लीमा समेत उपचार गरिएको थियो । ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलन र संसदीय अभ्यासमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । २०४८ आमनिर्वाचनमा काठमाडौंबाट निर्वाचित भएपछि उहाँ सभामुख बन्नुभएको हो ।

यसैबीच, सरकारले पूर्वसभामुख ढुंगानालाई राजकीय सम्मानका साथ अत्येष्टी गर्ने तयारी गरेको छ । सो विषयमा निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाले बताउनुभयो ।