मुख्य समाचार

बीआरआईमा ऋण नलिने कांग्रेसको निर्णय हो : गृहमन्त्री लेखक

- अर्जुन शाहधनगढी

बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा अनुदान लिने तर ऋणका रुपमा भने नस्वीकार्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पार्नु भएको छ । 

बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएको भए पनि दुुबै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताउनुभयो । 

‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्र्छ नै त भनेको छैन,’ कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले भन्नुभयो, ‘दुुबै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ ।’

मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गर्नुभयो । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर, आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’ 

मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताउनुभयो । २०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको उहाँले बताउनुभयो ।