उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
-राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नु भएको हो ।
उपनिर्वाचनमा सेना परिचालन गर्न प्रधानमन्त्रीको २०८१ मंसिर ६ को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । यसैबीच निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने दिन सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो ।