कम्बोडिया भ्रमणमा रहेका सभामुख र प्रधानमन्त्री मानेटबीच भेट
- काठमाडौंकम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे र त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेटबीच शिष्टाचार भेट भएको छ । कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिनुभयो । हवाई उडानले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने उहाँको विश्वास छ ।
नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा समेत दिनुभयो ।
सो अवसरमा कम्बोडियाका प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउनुभयो ।
प्रधानमन्त्री मानेटल आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।
यसैबीच, सभामुख घिमिरेले आइतबार साँझ माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गर्नु भएको थियो । भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले हिजो सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं पूर्ण सत्रमा सम्बोधन गर्नु भएको थियो । सभामुख भोलि साँझ स्वदेश फर्कने कार्यक्रम छ ।