बीआरआई परियोजनामा हामी प्रष्ट छौं : कांग्रेस सभापति देउवा
- जनकपुरनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत अनुदानमा सहयोग लिइने बताउनु भएको छ ।
जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग बोल्दै सभापति देउवाले बीआरआई मार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याउनुभयो । ‘बीआरआई परियोजनामा हामी प्रष्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ देउवाले भन्नुभयो, ‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुग्छि ।’
पूर्व प्रधानमन्त्री समेत रहेको देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताउनुभयो । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ देउवाले भन्नुभयो, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’
प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर पुगेका देउवा लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने हुनु भएको छ । देउवासँगै कांग्रेसका नेता विमलेन्द्र निधि पनि जनकपुर आउनु भएको छ ।