बीआरआई सम्झौता कार्यान्वयनका विषयमा दलहरु विभाजित
- काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका एजेण्डाका विषयमा पूर्वप्रधानमन्त्री, पूर्व पराराष्ट्रमन्त्री एवं वहालवाला मन्त्रीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यहि मंसिर १७ गते चीन भ्रमणमा जानुअघि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत एजेण्डामा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मुख्यत बीआरआई परियोजना अन्तर्गत ऋण सहायता लिन हुने या नहुने विषयमा पछिल्लो समय दलहरुले उठाएका सवाल लगायत, कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । छलफलका क्रममा दलका नेताहरुले बीआरआई कार्यन्वयनबारे फरक धारणा राखेका थिए । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वयन लगायतबारे सुझाव माग गर्नुभएको थियो ।
ठूलो विवाद हुने गरी आफूले नयाँ सम्झौता नगर्ने उल्लेख गर्दै मुलुकको हित हुने गरी भ्रमणको गृहकार्य भइरहेको बताउनुभएको थियो । बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईका परियोजना अघि बढाउने विषयमा अनुदान वा सफ्ट लोनको विवादमा अल्झिएर यसको कार्यान्वयन सम्झौता रोक्न नहुने बताउनुभएको थियो । कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले बीआरआईका परियोजना कार्यान्वयन सम्झौता गर्न नहुने धारणा राखेको एक सहभागीले बताए । प्रधानमन्त्री ओलीसँगको छलफलपछि बोल्दै एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई बीआरआई कार्यन्वयनका लागि अघि बढ्न सुझाव दिएको बताउनुभयो । नेपालले बीआरआईबाट लाभ लिनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणअघि अहिले बीआरआइको बिषयमा बहस तीव्र भएको छ ।