मुख्य समाचार

३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई प्राधिकरणको पत्राचार

- केएफएम डेस्क

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गर्नु भएको हो । 

घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गर्नु भएको हो । आयोगले उद्योगको लाइन काट्नबाहेक अन्य दबाबमूलक कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ती उद्योगको खाता रोक्का गर्न, सेयर कारोबार रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न पनि सम्बन्धित निकायलाई पत्राचार गर्नु भएको छ । सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको रहेको छ । उसले प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख रकम तिर्न बाँकी छ ।

त्यस्तै, मारुती सिमेन्टले ५७ करोड ४४ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख महसुल तिर्न बाँकी छ भने रिलायन्स स्पिनिङ मिलले ७५ करोड ३६ लाख रकम तिर्न बाँकी छ ।