मुख्य समाचार

उपनिर्वाचनको प्रचार प्रसारको समय आज राति १२ बजेदेखि सकिँदै

- केएफएम डेस्ककाठमाडौं

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको प्रचार प्रसारको समय आज सकिँदै छ ।

आज राति १२ बजेदेखि निषेध अवधि सुरु हुने आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था भएकाले उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको हो ।

मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन कसुर तथा सजाय ऐन २०७३  र निर्वाचन आचारसंहिता २०७९ बमोजिम निषेध गरिएका कार्यहरु नगर्न आयोगले निर्देशन दिएको छ ।

आयोगले निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य भएको शंका लागेमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारवाही गर्न सक्ने जनाएको छ ।