मुख्य समाचार

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने हुनु भएको छ । पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना धारणा प्रस्तुत गर्नु हुने कार्यक्रम छ । 

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा हुन लागेको सो भ्रमणमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाट, द्विपक्षीय वार्ता, र व्यापार मञ्चहरूमा सहभागिता रहनेछ । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघ को संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ली छ्याङसँगको भेटमा आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग समेत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, उच्चस्तरीय सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको टोली रहनेछ । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डल २० गते स्वदेश फर्कने छ ।