मुख्य समाचार

पशुपतिनाथ मन्दिरमा शतबीज छर्न भक्तजनको घुइँचो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शतबीज छर्न आएका भक्तजनको घुइँचो लागेको छ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको छ । 

पशुपतिनाथको मूल मन्दिर, बाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम सकिएको हो ।

शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । 

त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै बाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।