मुख्य समाचार

निर्वाचन आयोगले आजदेखि मतदाता नामवली पुनःदर्ता गर्दै

- रेडियो कान्तिपुर संवाददाता

निर्वाचन आयोगले सातै प्रदेशका जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामवली आजदेखि पुनःदर्ता गर्दैछ । स्थानीय तह उपनिर्वाचन सम्पन्न भएपछि आयोगले नियमित प्रक्रिया अनुसार मतदाता नामवली दर्ता तथा अध्यावधिक सुरु गर्ने जनाएको हो । 

मतदाता नामवलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने, नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामवली दर्ताका लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र आयोगको प्रणालीमा प्रविष्ट हुनुपर्ने आयोगको भनाइ छ । 

कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए निजले मतदाता नामवलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणपत्र सहित आवेदन दिनुपर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार आवेदन दिएका निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामवली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

यस्तै कुनै मतदाताले आफ्नो मतदाता नामवलीमा कुनै क्रुटि रहेको भए सच्याउने, दाहोरो नाम भएको हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अध्यावधिक गर्ने लगायत काम गर्नका लागि प्रि–रजिस्ट्रेसन प्रणाली मार्फत आवदेन दिन सकिने पनि जनाएको छ ।