मुख्य समाचार

लामिछानेमाथि अनुसन्धानका लागि ४ दिनको म्याद थप

- केएफएम डेस्क

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी पछिल्लो पटक ४ दिन म्याद थप गरिएको हो । यसैबीच, रास्वपाले सभापति लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा उजुरी दिनुभएको हो ।

सो पार्टीले लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायसमक्ष अपिल समेत गरेको छ । आयोगमा प्रस्तुत निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उहाँविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरिएको छ ।