मुख्य समाचार

बीआरआइ परियोजना अनुदानमा मात्र अघि बढाउने काँग्रेसको निष्कर्ष

- केएफएम डेस्ककाठमाडौं

सत्तारुढ नेपाली काँग्रेस चीनको बीआरआइ अन्तर्गतका परियोजनाहरु अनुदानमा मात्र अघि बढाउनुपर्ने पक्षमा उभिएको छ ।

 गत साता चीन र नेपालबीच सहुलियत ऋण समेत लिन सकिने गरी बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर भएको चर्चाका बीच सत्तारुढ काँग्रेसले अनुदानका आधारमा मात्र परियोजना सम्झौता हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

 प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमण र बीआरआइ कार्यन्वयनसम्वन्धि सम्झौताबारे पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकमा समिक्षा गरेको काँग्रेसले बीआरआइ अन्तर्गतका १० वटा परियोजनाका लागि चिनियाँ अनुदान मात्र स्वीकार्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिनुभयो ।

बीआरआइ कार्यन्वयनका लागि चीनसँग ऋण लिने सम्झौता नभएको अभिव्यक्ति प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले सार्वजनिक रुपमा दिइसक्नुभएको छ । यही पृष्ठभूमिमा सत्तारुढ काँग्रेसले अनुदानमा मात्र वीआरआइका परियोजना अघि बढाउनुपर्ने पार्टीको संस्थागत धारणा बाहिर ल्याएको हो ।

 ऋणको बोझ बढेकाले कुनै पनि देशबाट थप ऋण लिन नसकिने काँग्रेसको भनाइ छ । 

पोखरा विमानस्थल खराव ऋणको उदाहरणः काँग्रेस 

 नेपाली काँग्रेसले चीनको एक्जिम बैंकबाट ऋण लिएर बनाइएको पोखरा विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ । काँग्रेस प्रवक्ता महतले खराब ऋणको उदाहरण पोखरा विमानस्थल भएको बताउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट तत्कालीन समयकोे विनिमय दरअनुसार करिब २२ अर्ब भन्दा बढी रुपैयाँ ऋण लिएको थियो । सो ऋण मिनाहाका लागि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा समेत चिनियाँ पक्षलाई आग्रह गर्नुपर्ने धारणा व्यक्त भएपनि सो विषयले प्रवेश नपाएको बताइन्छ । र, प्रधानमन्त्री ओलको भ्रमण सकिएको केही दिनपछि उहाँ सत्तासाझेदार दल नेपाली काँग्रेसले पोखरा विमानस्थललाई खराव ऋणको एक उदाहरणको रुपमा व्याख्या गरेको हो । 

यसैबीच, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार एवम्  एमाले उपमहासचिव विष्णु रिमालले पोखरा विमानस्थललाई असफल परियोजना भन्न नमिल्ने बताउनुभएको छ । आज प्रकाशित द काठमाडौं पोष्ट दैनिकसँगको अन्तवार्तामा रिमालले विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष लगायतको जस्तै व्याजदरमा पोखरा विमानस्थलका लागि चीनसँग ऋण लिइएको र यो विषयमा अनावश्यक टिप्पणी गर्न नहुने बताउनुभएको छ । सो विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।