मुख्य समाचार

रास्वपा सभापति लामिछानेमाथि कुनै प्रतिशोध राखिएको छैनः गृहमन्त्री लेखक

- केएफएम डेस्ककाठमाडौं

सरकारले सहकारी ठगी लगायत कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथि कुनै प्रतिशोध नराखिएको जनाएको छ ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति लामिछानेमाथि कानुन अनुसार नै अनुसन्धान जारी रहेको र कुनै प्रतिशोध नराखिएको बताउनुभएको हो ।

रास्वपा सभाति लामिछानेमाथि अनुसन्धान जारी रहँदा अमानविय व्यवहार भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले सार्वजनिक रुपमा नै प्रतिक्रिया जनाउँदै आएका छन् ।

केहि दिनअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाउनुभएको थियो । दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै गृहमन्त्री लेखकले प्रतिशोध भएको पुष्टि गर्न आग्रह गर्नुभयो ।

सडकमा भीड जम्मा गरेर न्यायिक निरुपण गर्न खोज्ने प्रयास गर्नु बेठिक भएको गृहमन्त्री लेखकको भनाई थियो । सहकारीको बचत रकम अपलचन गर्ने सबैमाथि सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाएको लेखकले दाबी गर्नुभयो ।

सहकारी पीडितद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी र भरतपुरको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूले बचत रकम फिर्ताको माग राख्दै गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।

सहारा सहकारीका पीडित बचतकर्ता शालिकराम दुवाडीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउँदै बचत रकम हिनामिना गरेर देशबाटै फरार भएका सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई तत्काल पक्राउ गर्न माग गर्नुभयो ।

भरतपुरमा कार्यक्षेत्र रहेको सनराइज सहकारीमा बचतकर्ताले राप्रपाबाट सांसद भएकी गीता बस्नेत रकम हिनामिनामा संलग्न भएको बताउँदै पक्राउ गरि कानुनी कारबाहि गर्न पीडितहरुले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका छन् ।