एकीकृत समाजवादीले ३४४ सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने
- काठमाडौंएकीकृत समाजवादीले केन्द्रीय समितिका ३ सय ४४ सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । पार्टी महाधिवेशनको चार महिनापछि समाजवादीले नेताहरुलाई संगठन विभाग, जिल्ला, प्रदेश, जनसंगठन इन्चार्ज, आयोग प्रमुख लगायत विभागीय प्रमुखमा जिम्मेवारी दिन लागेको हो ।
जिम्मेवारी दिएसँगै मतदाता लक्षित कार्यक्रम मार्फत नेताहरुलाई जिल्लामा खटाउने तयारी एकीकृत समाजवादीले गरेको छ । जिम्मेवारी बाँडफाँडका लागि अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा गठित ७ सदस्यीय कार्यदलले कार्यविभाजन भएका नेताहरुको नामवली अनुमोदन गर्ने तयारी छ ।
स्थायी कमिटी बैठक बस्नुअघि कार्यदलको बैठकमा छलफल गर्ने र मध्याह्नपछि बस्ने बैठकमा पेश गर्ने तयारी भएको उपाध्यक्ष जग्गनाथ खतिवडाले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले महाधिवेशनपछि नेतृत्वप्रति असन्तुष्ट १७ जना नेताहरुलाई यसअघि नै स्थायी कमिटीमा सामेल गराइसकेको छ । नेताहरुलाई विभागीय जिम्मेवारी दिएपछि पार्टी सांगठानिक कामले गतिलिने उपाध्यक्ष खतिवडाको भनाइ छ । सर्वसम्मत रुपमा कार्यविभाजनको टुङ्गो लगाउन सकस परेपछि गत बुधबारदेखि सुरु दुई दिने बैठक भने लम्बिएको हो ।