मुख्य समाचार

रविसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन कास्की प्रहरीको राय

- दीपक परियारकाठमाडौं

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा आज बुझाएको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन मार्फत सो राय दिएको हो ।

प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी प्रकरणमा ५१ मध्ये ३७ जना फरार छन् ।

उनीहरुलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । प्रतिवादीहरु सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं सदस्यदेखि सहकारीको रकम अवैधानिक रुपमा लगानी भएका कम्पनीका सञ्चालकसम्म छन् । 

पूर्व डीआईजी छविलाल जोशीदेखि बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली समेत छन् । नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पूर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि अध्ययनको क्रममा रहेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताउनुभयो । प्रहरीको रायको आधारमा कुन–कुन शीर्षकमा मुद्दा चलाउने गरी अभियोगपत्र लैजाने भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ ।

गत बिहीबार लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारी ठगीमा जोडिएका लिला पछाई, सहकारीका सञ्चालक समिति सदस्य कृष्णबहादुर गुरुङ सहितलाई जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको थियो ।

त्यसका लागि भोलि उनीहरुलाई म्याद थपको माग गर्दै अदालतमा उपस्थित गराउने कास्की प्रहरीको तयारी छ । पूर्व डीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए ।