तीन वटा कसुरमा रवि लामिछानेसहित थप ३१ जनाविरुद्ध मुद्धा दायर
-कास्कीस्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा पूरक अनुसन्धान सकिएलगत्तै सरकारी वकिलको कार्यालयले तीन वटा कसुर गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वमन्त्री रवि लामिछानेसहित थप ३१ जनाविरुद्ध मुद्धा दायर गरेको छ । कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा समग्रमा लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी सहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितमा मुद्धा दायर भएको हो ।
गत कात्तिक २ गते काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने लगायत ५ दर्जन भन्दा बढी व्यक्तिमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्धा दायर भएको छ । सो सहकारी ठगीमा यसअघि १९ जनाविरुद्ध मुद्धा विचाराधिन रहेकोमा लामिछानेसहित थप ४४ जनाविरुद्ध मुद्धा दायर भएको हो । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले पुरक अभियोग पत्रसहित ६३ जनाविरुद्ध मुद्धा दायर भएको जानकारी दिनुभयो ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रास्वपा सभापति लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ भने झन्डै २८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाइएको छ । त्यस्तै, जीबी राईमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ । अर्का प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । त्यस्तै, रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ र लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धिकरणमा उनी चार जनाविरुद्ध मुद्धा दायर भएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । यसैबीच, लामिछानेकी श्रीमति निकिता पौडेलसहित पाँच जनालाई उनीहरूको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरिएको छ । कानूनका जानकारहरुका अनुसार कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति भेटिएमा जफत गर्ने प्रयोजनका भन्दै प्रतिवादी बनाउने व्यवस्था रही आएको छ । कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित अघिल्लो साता अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यसअघि सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा भित्र्याइएको रकमको हकमा संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित जिम्मेवार ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो । लामिछानेले भने आफू सहकारी ठगी लगायत कसुरमा निर्दोष रहेको दावी गर्दै आउनुभएको छ । उहाँको पार्टी रास्वपाले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान भइरहँदा राज्यले फसाउन खोजेको भन्दै केही दिन आन्दोलन समेत गरेको थियो ।