मुख्य समाचार

रास्वपा सभापति लामिछानेसहित ५ प्रतिवादीको अदालतमा बयान सुरु हुँदै

- दीपक परियारपोखरा

सहकारीको रकम ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको आजदेखि कास्की जिल्ला अदालत बयान सुरु हुँदैछ । 

लामिछानेसहित पूर्व डीआईजी छबिलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान सुरु हुने भएको हो । न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएकोमा मिसिल अध्ययनपछि बयान सुरु हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । 

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपाका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरुविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै, ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।