मुख्य समाचार

त्रिविको ५० औं दीक्षान्त समारोहबाट १४ हजार विद्यार्थी दीक्षित

- केएफएम डेस्ककाठमाडौं

त्रिभुवन विश्वविद्यालयका १४ हजार ३ सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत समेत गरिएको छ ।

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर अघि बढ्नुपर्ने बताउनुभयो । विश्वविद्यालयकी सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा. डा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पस एकापसमा गाभ्ने नीति लिइएको पनि बताउनुभयो ।