मुख्य समाचार

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छः प्रधानमन्त्री ओली

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । काठमाण्डौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताउनुभयो । हिजो.छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाइ थियो । 

व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी रहेको पनि उहाँले उल्लेख गर्नुभयो । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको उहाँको भनाई थियो । स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधिको उपस्थिति प्रगतिउन्मुख रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई बढाएर लानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।