मुख्य समाचार

कर्मचारीको कार्यसम्पादनप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन शैली चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कानुनी अड्चन देखाएर नागरिकको काममा बाधा पु¥याउन नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले असल नियतले अह्राएको कामलाई राजनीतिक हस्तक्षेप सम्झन नहुने बताउनुभएको थियो । उहाँले राजनीतिकर्मी समेत ‘भिजन’ लिएर सिंहदरबार प्रवेश गरेकाले उनीहरुले अह्राएको काम गलत हुने सोच नराख्न कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो ।

त्यसअघि छलफलका क्रममा सचिवहरुले राजनीतिक दबाबमा काम गर्दा कर्मचारीहरु मात्रै कारबाहीमा पर्ने गरेको आशयको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता तथा जनशक्ति महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यले सरकारको लक्ष्यअनुसार सेवा प्रवाह र कार्यसम्पादनका विषयमा छलफल गरिएको बताउनुभयो ।