मुख्य समाचार

सडक आन्दोलन नगरे शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सकिन्नः दाहाल

- केएफएम डेस्ककाठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो नलाग्ने बताउनुभएको छ । 

काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरुको सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी कामहरु राजनीतिक कारणले अड्किएको बताउनुभयो । 

माओवादीलाई तह लगाउने अन्तिम हतियारको रुपमा शान्ति प्रक्रियालाई कतिपय पक्षले उपयोग गर्न खोजेको दाहालको भनाइ थियो । संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी चयन हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।