स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेलाई न्यायिक हिरासतमा पठाउन अदालतको आदेश
- काठमाडौंकाठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान आज सकिएपनि थुनछेक बहस नभएकाले न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाएको हो ।
अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिनुभयो । भोलिदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिएपनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको बताउनुभयो ।
कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिन आग्रह गर्दा न्यायाधीशले नमानेको र प्रहरीको जिम्मामा न्यायिक हिरासतमा पठाइएको न्यौपानेको भनाइ छ । लामिछाने आज बिहान अदालतमा उपस्थित हुनुभएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ८४ दिनपछि लामिछाने हिरासत मुक्त हुनुभएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भएको छ ।