पछिल्लो ५ महिनामा आगलागीमा परि १६ जनाको मृत्यु
- काठमाडौंपछिल्लो ५ महिनामा आगलागीको घटनामा परि १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार आगलागीजन्य घटनामा परि १ सय ४५ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार आगलागीजन्य घटनामा परि ज्यान गुमाउनेमा १० जना महिला छन् भने ५ जना पुरुष तथा १ जना बालक छन् । आगालगीकै कारण देशभरका विभिन्न जिल्लामा गरि १ सय ९० घर तथा १सय ३० वटा गोठ क्षतिग्रस्त भएका छन् । ४ सय ५५ पशु चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।
साउनदेखि मंसिर मसान्तसम्म भएका १ हजार १ सय १६ वटा आगालगीका घटनामा ४९ करोड ९० लाख २८ हजार ३ सय ३० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार कोशी प्रदेशमा सर्वाधिक धेरै ३ सय ३१ तथा कर्णाली प्रदेशमा सबैभन्दा कम ५१ वटा आगलागीका घटना भएका छन् ।
कोशी प्रदेशपछि मधेश प्रदेशमा २ सय ६९ वटा तथा काठमाडौं उपत्यकामा मात्र १ सय ४० वटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ ।