पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश
-काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ । सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा लामिछानेबाट ६० लाख धरौट वा सो बराबरको जेथा जमानत लिई तारेखमा राख्न भनिएको छ ।
लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयर खरिद गर्न निवेदन दिएको देखिएको जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ । गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै उनी कसुरदार होइनन् भन्ने सक्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ । गत बिहिबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।