मुख्य समाचार

कांग्रेस र एमालेबीच कुनै समस्या छैनः सभापति देउवा

- केएफएम डेस्ककाठमाडौं

सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन सरकारमा सहयात्री दलसँग कुनै समस्या नरहेको निष्कर्षसहित प्रभावकारी रुपमा आफ्नो काम अघि बढाउन पार्टीका मन्त्रीहरुलाई आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र संसदीय दलका नेताहरुसहित मन्त्रीहरुसँगको छलफलमा सरकार सञ्चालनमा कांग्रेस र एमालेबीच कुनै समस्या नभएको बताउनुभयो । बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले सरकारमा एमालेसँग कुनै समस्या नभएको बताउनुभयो ।

वर्तमान सरकारमा नेपाली कांग्रेसको तर्फबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री सहभागी छन् । सरकारको कार्यसम्पादनलाई लिएर टिकाटिप्पणी भइरहेका बेला कांग्रेसले मन्त्रीहरुसँग मन्त्रालयको कामबारे जानकारी लिएको हो । गृहमन्त्री लेखकले एमालेसँगको ७ बूँदे सहमतिको भावना अनुसार काम अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

यसैबीच, नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी मन्त्रीलाई हप्तामा दुई दिन ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जान आग्रह गरेको छ । पार्टी कार्यकर्ताहरूले मन्त्रीहरूले गुनासा नसुनेको भनेपछि कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र कम्तिमा दुई दिन केन्द्रीय कार्यालयमा पुग्न भनेको हो ।