तत्काल संसदको अधिवेशन बोलाउन विपक्षी ७ दलको माग
- काठमाडौंप्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ७ विपक्षी दलले संसद छलेर अध्यादेश ल्याउने सरकारको कदमप्रति विरोध जनाउँदै तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
संसदमा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले संसद अधिवेशन आह्वान गर्न सरकारले ढिलाइ गरे विशेष अधिवेशनको माग गर्ने समेत बताएका छन् । आज बसेको ती दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद अधिवेशन बोलाउन माग गर्नुभयो ।
प्रतिपक्षी ७ दलले विभिन्न विषयमा ५ बूँदे साझा धारणा सार्वजनिक समेत गरेका छन् । सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरुद्ध गरेको आरोप विपक्षी दलले लगाएका छन् । सरकार सञ्चालनमा सत्तारुढ गठबन्धनले नैतिक आधार गुमाइसकेको विपक्षीको आरोप छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारका कामको आलोचना बढेपछि अध्यादेशको भर पर्नुपर्ने अवस्थाले गठबन्धनको नैतिक आधार सकिएको टिप्पणी गर्नुभयो ।
प्रतिपक्षी दलहरुले दल विभाजनका लागि सरकारले अध्यादेश ल्याउन खोजेको आरोप समेत लगाएका छन् । विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कसरतले राजनीतिक उपलव्धि गुम्ने खतरा भएको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई थियो ।
विपक्षी दलले संक्रमणकालीन न्याय प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरुलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले सार्वजनिक सेवामा सुधार र लगानीको वातावरण बनाउन भन्दै ५ वटा अध्यादेश ल्याएपछि विपक्षी दलले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीद्वारा अध्यादेशको बचाउ
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट सरकारले शासन गर्न खोजेको भन्ने आरोपको प्रतिवाद गर्नुभएको छ । आवश्यकता अनुसार अध्यादेश ल्याइएको र अब बस्ने संसद बैठकबाट कानून निर्माण प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
विकास निर्माण र लगानीको वातावरणलाई सहज बनाउन अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीको भनाइ थियो । कामहरु अघि बढाउन सरकारले कानूनी प्रवन्ध मिलाएको चर्चा गर्दै उहाँले अध्यादेशलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।
सरकारले केही दिनअघि सार्वजनिक सेवा, लगानीका साथै भूमि सम्वन्धि अध्यादेश ल्याएको थियो ।