मुख्य समाचार

चितवन प्रहरीद्वारा पूर्वमन्त्री लामिछानेसहित १४ जना विरुद्धको अनुसन्धान प्रतिवेदन अदालतमा पेश

- रमेशकुमार पौडेलचितवन

साहारा चितवन बुहद्देश्यीय सहकारीको बचत रकम अपचलनमा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीसहित १४ जना विरुद्ध अनुसन्धान पुरा गरेर चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशन बमोजिम प्रहरीले पुरक अनुसन्धान गरेको थियो । यसअघि सो प्रकरणमा १७ जना विरुद्ध मुद्दा दायर भइसकेको छ । प्रहरी कार्यालयबाट पुरक प्रतिवेदन आइसकेको र अध्ययन बाँकी रहेको जिल्ला न्यायाधीवक्ता शान्तीप्रसाद लुईँटेलले जानकारी दिनुभयो ।

अध्ययन गरेर अदालतमा मुद्दा लैजान एक÷दुई दिन लाग्न सक्ने उहाँको भनाई छ । थप १४ जनालाई प्रतिवादी बनाउन राय पठाइएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले बताउनुभयो । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिना भएको प्रकरणमा २०८० साल असोज ९ गते चितवन प्रहरीमा जाहेरी परेको थियो ।

करिब एक वर्ष लगाएर चितवन प्रहरीले गरेको अनुसन्धानको आधारमा गत असोज ८ गते १७ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।