सुप्रिम सहकारी प्रकरणः पूर्वमन्त्री लामिछानेसहित ४२ जनाीवरुद्ध रुपन्देहीमा मुद्दा दायर
- काठमाडौंबुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा पूर्वमन्त्री रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
यसअघि गत वैशाख ३ गते २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा आज लामिछानेसहित १४ जनालाई पुरक अभियोग लगाउँदै सहकारी ठगी र संगठित अपराधमा मद्दा दायर भएको हो । पुरक अभियोजनका क्रममा पूर्व मन्त्री लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतसँग सहकारी ठगी र संगठित अपराधको कसुरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको छ ।
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले पुरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा प्रहरीले पुरक अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो ।
समग्रमा सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ । यसैबीच, मुद्दा दर्ता भएपछि पूर्वमन्त्री लामिछाने भोलि अदालतमा उपस्थित हुने तयारी गर्नुभएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीमा तेस्रो मुद्दा दायर भएको हो । पोखराको सुर्यदर्शन र काठमाडौँको स्वर्णिम सहकारीको बचत रकम अपचल मुद्धामा लामिछाने धरौटीमा रिहा हुनुभएको छ । बुटवलपछि चितवन र पर्सा गरेर थप दुई जिल्लामा लामिछाने सहितका व्यक्तिमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको छ ।