मुख्य समाचार

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

- घनश्याम गौतमबुटवल

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारीको रकम ठगी र संगठित अपराध कसूरको मुद्दामा बयानका लागि पूर्वमन्त्री रवि लामिछाने अदालत उपस्थित हुनु भएको छ । लामिछाने बिहान १० बजे नै अदालत पुग्नु भएको हो । 

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसूरमा आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलको पुरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित लामिछाने, छविलाल जोशीका साथै पुरकमा १४ र सुरु मुद्दाका ८ सहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसूरमा पुरक मुद्दा दायर गरेको हो । 

२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैंयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड रुपैयाा व्यक्तिगत बिगो तोकिएको छ । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा गितेन्द्रबाबु राई लगायत पुरक अभियोजनका २२ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रवि लामिछाने अदालतमा उपस्थित भएको बताउनुभयो । ‘उहाँ अदालतमा आईसक्नु भएको छ,’ मरासिनीले भन्नुभयो, ‘आइतबार दर्ता भएको मुद्दाको थप प्रकृया अघि बढ्दै छ ।’ बुधबार नै लामिछानेको बयान सुरु हुन सक्ने उहाँको भनाई छ । बयानपछि थुनछेक बहस हुनेछ । 

लामिछानेको सचिवालय स्रोतका अनुसार काठमाडौंबाट बढीमा तीन जना वकिल आउने छन् । तर, को को आउने भन्ने अझै निश्चित भएको छैन । वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधवार नै भैरहवा आईपुगेका छन् । थप २ जना वकिल काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो । रुपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले बहस गर्ने सम्भावना छ । 

लामिछाने र पूर्वडीआईजी समेत रहेका छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसूरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसूर र बिगो थप सहितको मुद्दा दर्ता भएको छ । उनीविरुद्ध गत असोज ५ गते पुरक जाहेरी परेको थियो । लामिछाने सहकारी ठगी अभियोगमा कात्तिक २ गते पक्राउ परेका थिए । 

कास्की प्रहरी हिरासतमा रहेका उनलाई प्रहरीले कात्तिक २७ गते रुपन्देही ल्याएर तीन दिनसम्म बयान गराएको थियो । त्यसपछि उनी कास्की हिरासतमै पुर्‍याईएका थिए । तर, आइतबार दर्ता भएको मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले समेत लामिछाने सहितलाई फरारको सूचीमा राखेको हो । 

रवि कास्की जिल्ला अदालतबाट गत पुष २५ गते ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यसपछि उनी पुष २८ गते काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यहाँबाट ६० लाख रुपैयाँ धरौटी बुझाएर माघ २ गते छुटेका थिए ।