लामिछानेको बयान सकियो, भोलि थुनछेक बहस हुने
- बुटवलराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा बयान सकिएको छ । लामिछाने विरूद्धको पेशी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको ईजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको अदालतका श्रेष्तेदार उपसचिव यज्ञमुर्ती ज्ञवालीले बताउनुभयो । उहाँले अब भोलि थुनछेक बहस सुरू हुने र थुनछेक बहस नहुँदासम्मका लागि जिम्माजमानीमा राख्न आदेश भएको बताउनुभयो । आदेशपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा लगाईएको उहाँले जानकारी दिनुभयो ।
लामिछानेविरुद्ध गत आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने आज बिहान अदालत पुगेका थिए । लामिछाने पुगे लगत्तै अदालतले हाजिर गराएर न्यायाधीसहरुको गोलाप्रथाबाट मुद्धाको पेशी चढाईएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका ८ सहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।
२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिक तर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।