मुख्य समाचार

सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस जारी, आजै आदेश आउन सक्ने

- घनश्याम गौतमबुटवल

बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा आज पनि थुनछेक बहस सुरु भएको छ । सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन् ।

रवि बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् । 

न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरुले, शुक्रबार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए । 

शुक्रबार बहस नसकिएपछि आज आईतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएका थियो । बुधबारदेखि लामिछाने होटलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आईरहेका छन् ।

आइतबार प्रतिवादीका रमण श्रेष्ठ, राजेन्द्र सेढाई सहितका बाँकी वकिललले बहस गरेपछि जाहेरवालाका तर्फबाट र सरकारी वकिलहरुले जवाफी बसह गर्ने छन्् । बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाई गर्ने भन्ने आदेश दिने सक्ने अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहस सकेर आजै आदेश गर्ने सम्भावना छ ।’ 

लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पुरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख रुपैयाँ र रविको व्यक्तिगत २ करोड रुपैयाँ बिगो माग गरिएको छ ।