मुख्य समाचार

राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कार्यकारी भूमिकामा फर्किनु उचित होइनः प्रदीप ज्ञवाली

- केएफएम डेस्ककाठमाडौं

एमालेका पदाधिकारी तहका नेताले पार्टीको राजनीतिमा फर्किने पूर्व राष्ट्रपति विद्या भण्डारीको योजना गलत भएको टिप्पणी गरेका छन् ।

पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा फर्किने योजनासहित राजनीतिक सक्रियता बढाइरहेका बेला एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा आउनु गलत भएको बताउनुभएको हो । बुटवलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कार्यकारी भूमिकामा फर्किनु उचित नहुने बताउनुभयो ।

अघिल्लो महिना कास्की पुगेर राजनीतिक सम्वाद गरेकी भण्डारी अहिले मोरङ र सुनसरीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रममा सहभागी हुनुभएको छ । उपमहासचिव ज्ञवालीले पार्टी अध्यक्षको चाहना विपरित भण्डारी पार्टीमा फर्किन लागेको चर्चामा सत्यता नभएको दावी समेत गर्नुभयो । एमालेमा भण्डारी फर्किने बिषयमा कुनै छलफल नभएको उहाँको भनाइ थियो ।

पार्टीमा फर्किने योजना अनुसार पूर्व राष्ट्रपति भण्डारीले पछिल्ला महिनामा एमालेका नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट नेताले भण्डारीलाई पार्टी राजनीतिमा फर्किन सुझाव दिएको एमालेका कतिपय नेताको बुझाइ छ ।