संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै
- काठमाडौंसंघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । साढे ४ महिनापछि बस्न लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्नेछ ।
आजको बैठकमा सरकारले केही साताअघि जारी गरिएका ६ अध्यादेश पनि दर्ता गर्ने कार्यसूची रहेको छ । सरकारले भूमि सम्बन्धी केही नेपाल संशोधन, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन, निजीकरण पहिलो संशोधन अध्यादेश आज प्रतिनिधि र राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन लगायत अध्यादेश पनि आज पेश हुनेछन् ।
अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अधिवशेन सुरु भएको दिन भएकाले दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने कार्यसूची रहेको छ । यस्तै, सरकारले यस अधिवेशनमा करीब ३० वटा विधेयक संसद्मा लैजाने तयारी गरेको छ । यसअघि नै दर्ता भएका २३ विधेयक भने संसद्मा विचाराधीन छन् ।
यसैबीच, सरकारले ल्याएका अध्यादेशका कारण संसद् बैठक सुरुदेखि नै पेचिलो हुने संकेत देखिएको छ । सरकारले संसद् अधिवेशन धकेलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोध गर्ने तयारी गरेका छन् ।
सरकार भने अध्यादेशलाई जतिसक्दो छिटो पारित गराउने रणनीतिमा छ । प्रतिपक्षी दलबाट विरोध हुने अनुमान गरेरै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदलाई निर्देशन दिइसक्नु भएको छ ।
सरकारले जारी गरेको अध्यादेश संसद् अधिवेशन प्रारम्भ भएको दिनमै पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । दुवै सदनले स्वीकार नगरे वा सदनको बैठकले त्यसमाथि कुनै निर्णय नलिए बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।