एचपीभी खोप हालसम्म हालसम्म ६ लाख ५५ हजार बढीले लगाए
- काठमाडौंपाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म ६ लाख ५५ हजार ३ सय ६३ जनाले खोप लगाएका छन् । सरकारले विश्व क्यान्सर दिवसको अवसरपारेर गत माघ २२ गतेबाट एचपीभी खोप अभियान देशैभर सुरु गरेको थियो ।
अभियान सुरु भएको ४ दिनसम्ममा लक्ष्यको ३८ दशमलव २ प्रतिशतले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनु भयो । अभियानमा १६ लाख ८८ हजार ७ सय भन्दा बढी किशोरीलाई खोप दिईने लक्ष्य राखिएको छ ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाईरहेको मन्त्रालयले जनाएको छ । विद्यालय केन्द्रित खोप अभियान आगामी फागुन ६ गतेसम्म सन्चालन हुनेछ ।
महिलामा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गरिएको हो ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । क्यान्सरको ठोस कारण पत्ता नलागे पनि पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसबाट हुने अनुसन्धानले देखाएको छ ।
यसैबीच खोप अभियानको विरुद्धमा केही व्यक्तिले अपवाह फैलाईरहेकाले भ्रममा नपर्न पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।