मुख्य समाचार

कानुन कार्यान्वयनको ढिलासुस्ती हटाउन अध्यादेश ल्याइएको होः प्रधानमन्त्री ओली

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिका कारण अध्यादेश ल्याइएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कार्यको बचाउ गर्दै संघीय संसद् अधिवेशन आह्वान गर्नुपहिले ल्याइएका अध्यादेशले २९ वटा कानुन संशोधन गरिएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले अध्यादेश आफ्नो हितका लागि नभई देशको हितका लागि ल्याएको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीत काम गर्न नहुने बताउनुभयो । प्रहरीलाई दबाब र प्रभावबाट मुक्त भएर कार्य सम्पादन गर्न ओलीले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली स्वार्थमा केन्द्रीत भएः माधव नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तालाई आफ्नो स्वार्थमा केन्द्रीत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्नुपर्नेमा सरकारको नेतृत्व व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री ओलीका कारण मुलुकमा अन्योलको स्थिति पैदा भएको उहाँको भनाइ थियो । अर्को प्रसंगमा अध्यक्ष नेपालले एमालेसँग पार्टी एकता गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।