जलनबाट घाईते पोखरा महानगर प्रमुख आचार्य डिस्चार्ज
- काठमाडौंपोखरा भ्रमण वर्ष घोषणा कार्यक्रम उद्घाटनमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य डिस्चार्ज हुनुभएको छ। ।
कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार घाउ गहिरो हुन सक्ने जोखिम, श्वासनली र फोक्सोमा समस्या नदेखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार डिस्चार्ज भए पनि आचार्य एक साता काठमाडौंमै रहनुहुनेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएका दुवैलाई केही दिन नियमित ड्रेसिङ भने गर्नुपर्ने अस्पतालले जनाएको छ । पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियो ।